सिलगढी, असार २३, देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी दिएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदरभन्दा दक्षिणतर्फ र पश्चिमी भूभागमा सरदर स्थानकै आसपास रहेकाले देशभर यसको प्रभाव कायम रहेको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ भने मधेश र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा धेरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ। साथै, सुदूरपश्चिमको तराईका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
महाशाखाले कोशी प्रदेशका पहाडी तथा तराईका थोरै स्थान तथा मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान, चट्याङ र हावाहुरीबाट हुन सक्ने जोखिमप्रति आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।











