असार ७, सिलगढी
नेपालमा हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव देखिएको छ भने अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागसँगै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेस तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर चल्न सक्ने तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेस तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
महाशाखाले भारी वर्षा, चट्याङ तथा तातो लहरको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन तथा मौसमसम्बन्धी पछिल्ला सूचनामा नियमित अद्यावधिक रहन आग्रह गरेको छ।











