दार्चुला /दार्चुलाको दुहुँ गाउँपालिका–४ चिनचिरीमा आगलागी हुँदा दुई घरमा क्षति पुगेको छ।
बिहीबार बिहान स्थानीय इन्द्रबहादुर बमको घरमा लागेको आगोले घरभित्र रहेका धनमाल जलेर नष्ट हुँदा करिब १० लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगो नियन्त्रणमा लिनुअघि छिमेकी प्रकाश बमको घरमा समेत फैलिएको थियो। आगलागीबाट प्रकाश बमको घरमा करिब ६० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ।
घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
आगलागीको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











