धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रहरीले चोरी भएका आठ वटा मोटरसाइकल बरामद गरेको छ।
कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त चेकजाँच अभियानका क्रममा विभिन्न कम्पनीका आठ मोटरसाइकल फेला पारिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
बरामद मोटरसाइकलमध्ये हिरो कम्पनीका सुपप्र ०१–००८ प ८६८१, सुपप्र ०१–०९३ प ६५८२, सुपप्र ०१–०१०९ प ७७४८ र सुपप्र ०१–०१२ प ७५१० नम्बरका मोटरसाइकल रहेका छन्। यस्तै बजाज कम्पनीका युपी २६ ई ५९७९, से ७ प ४७९४, सुपप्र ०१–०१२ प ८५३५ लगायतका मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर राना ले चोरीका सवारीसाधन प्रयोग गरी हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष निगरानी बढाइएको बताए।
उनका अनुसार नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानमा नियमित तथा विशेष चेकजाँच अभियान सञ्चालन गरिरहेको छ। चेकजाँचलाई प्रभावकारी बनाइएपछि चोरी भएका सवारीसाधन पहिचान गरी बरामद गर्न सहज भएको प्रहरीले जनाएको छ।
बरामद मोटरसाइकलका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।











