सिलगढी / देशमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेकाले आज पनि केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। यी प्रदेशका केही स्थान तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा जारी रहने अनुमान गरिएको छ। मधेश प्रदेशका एक–दुई स्थानमा समेत चट्याङसहित पानी पर्न सक्ने सम्भावना छ।
यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भने तापक्रम बढ्ने र तातो दिनको अनुभूति हुने मौसमविद्ले बताएका छन्।
मौसमविद्ले वर्षा, चट्याङ र अस्थिर मौसमका कारण सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।











