कैलाली / मालाखेतिमा कार्यरत डीएसपी रणबहादुर चन्द डोटी सरुवा भएका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुखका रूपमा कार्यरत प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दको एक वर्षे कार्यकाल उल्लेखनीय उपलब्धिसहित सम्पन्न भएको छ। हाल उनी डोटी सरुवा भएका छन्। २०८२ वैशाख २१ गतेदेखि २०८३ जेठ ७ गतेसम्मको अवधिमा उनको नेतृत्वमा प्रहरीले भन्सार छली गरी ल्याइएका १ करोड ७८ लाख ५७ हजार ८७० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
यस अवधिमा लागूऔषध नियन्त्रणतर्फ ३९ वटा मुद्दा दर्ता गरिएको छ भने ६२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ९ किलो १३९ ग्राम चरेस, ९० ग्राम ३१४ मिलिग्राम हेरोइन र ६५० थान विभिन्न प्रकारका क्याप्सुल बरामद गरिएको छ।
त्यसैगरी, एक वर्षमा विभिन्न प्रकृतिका ३९४ वटा आपराधिक मुद्दा दर्ता भएका छन्। ती मुद्दामा ३३५ जनालाई पक्राउ गरिएको छ, जसमा ३१ महिला र ३०४ पुरुष रहेका छन्। दर्ता भएका मुद्दामध्ये २४० वटा फर्छ्यौट गरिएको छ भने बाँकी मुद्दामा अनुसन्धान र कानुनी प्रक्रिया जारी रहेको छ।
फैसला कार्यान्वयनतर्फ अदालतबाट सजाय तोकी फरार रहेका ३३८ प्रतिवादीमध्ये १०७ जनालाई पक्राउ गरिएको छ। त्यस्तै कारागारबाट फरार रहेका ६७ जनामध्ये ३७ जनालाई पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अन्य कारबाहीअन्तर्गत ८ लाख ९ हजार २९० रुपैयाँ बराबरको अवैध काठ बरामद गरिएको छ भने अवैध गिट्टी–बालुवा उत्खननमा ५० हजार रुपैयाँ बराबरको कारबाही गरिएको छ। साथै १ हजार ७७७ लिटर अवैध घरेलु मदिरा र ६ हजार २०० लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरिएको छ।
डीएसपी चन्दको नेतृत्वमा सीमा क्षेत्रमा भन्सार छली, लागूऔषध कारोबार, फरार अपराधी पक्राउ तथा अन्य अवैध गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता हासिल भएको प्रहरीको दाबी छ।











