मनमाेहन ठकुल्ला,
डाेटी, बैशाख १० गते
डोटीको दिपायल सिलगढी नगरपालिका–३ स्थित दिलिपेश्वर माध्यमिक विद्यालयमा किशोरकिशोरी लक्षित सूचना केन्द्र तथा एएफआइसी स्थापना गरिएको छ। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) को सहयोगमा नगरपालिका र पिसविन नेपालको साझेदारीमा “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत उक्त केन्द्र सञ्चालनमा आएको हो। आज बिहीबार एक आैपचारिक कार्यक्रमका साथ सञ्चालनमा ल्याइएकाे हाे ।

विगत दुई वर्षदेखि सञ्चालनमा रहेको सूचना केन्द्रमार्फत किशोरकिशोरीलाई शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक समानतासम्बन्धी जानकारी प्रदान गर्दै आइएको छ।
केन्द्रमा विभिन्न पोस्टर, पम्प्लेट, पुस्तक, बुक र्याक, प्राथमिक उपचार सामग्री, हाइट–वेट मापन तथा स्वास्थ्य परीक्षण उपकरण, आराम कक्ष, हाइड्रोलिक बेड, सेनिटरी प्याड र हर्ट ब्यागको व्यवस्था गरिएको छ। विशेषगरी महिनावारी भएका छात्राहरूका लागि सुरक्षित आराम स्थल उपलब्ध हुँदा विद्यालयमा उनीहरूको नियमित उपस्थितिमा सुधार आएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयकी छात्रा अनुश्का बोगटीका अनुसार असहज अवस्थामा सूचना केन्द्रले आवश्यक सहयोग र आराम प्रदान गरेको छ। छात्र परजोल सुनारले केन्द्रमा उपलब्ध सामग्रीले उमेरअनुसार हुने परिवर्तन बुझ्न सहज भएको बताए भने चन्द्र साउँदले मानसिक तनाव व्यवस्थापनमा समेत केन्द्र उपयोगी रहेको अनुभव सुनाए।
प्रधानाध्यापक दीर्घ कठायतका अनुसार सूचना केन्द्र र रुपान्तरण कक्षा सञ्चालनपछि विद्यार्थीहरूको अनुशासन, आत्मविश्वास र अतिरिक्त क्रियाकलापमा सक्रियता बढेको छ। साथै विद्यार्थीहरूले विद्यालय बाहिर समेत लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी सचेतनामूलक गतिविधि सञ्चालन गर्न थालेका छन्।

यसैबीच, वडा नम्बर ९ स्थित तेडी माध्यमिक विद्यालयका विद्यार्थीहरूले उक्त केन्द्रको अवलोकन भ्रमण गरिएकाे छ । भ्रमणमा सहभागी छात्रा अप्सराले यस्तो सुविधा आफ्नै विद्यालयमा पनि आवश्यक रहेको बताउँदै यसले विद्यार्थीलाई ठूलो लाभ पुग्ने धारणा राखिन्।
दिलिपेश्वर माविमा सञ्चालन भइरहेको सूचना केन्द्र किशोरकिशोरीको ज्ञान, सीप, स्वास्थ्य र आत्मविश्वास अभिवृद्धिमा प्रभावकारी बन्दै गएको देखिएको छ।











