सिलगढी / जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले नेपालका पूर्वी तथा मध्य भागमा आज बिहानैदेखि मौसम बदली भई वर्षा भइरहेको जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश सहित देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली भएको छ।
विशेषगरी कोशी प्रदेशका केही स्थानहरू तथा मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। वर्षा गराउने मौसमी प्रणाली पूर्वतर्फ सर्दै गएको बताइएको छ।
चट्याङसहितको वर्षा गराउने बादल इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङ जस्ता कोशी प्रदेशका पूर्वी भू–भागतर्फ बढिरहेको मौसमविद्हरूले बताएका छन्। ती क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
पहाडी क्षेत्रमा वर्षासँगै चट्याङको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको जनाइएको छ।











