सिलगढी /देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश र गण्डकी प्रदेश का पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य प्रदेशका पहाड र हिमालमा आंशिक बदली छ।
तराईका केही स्थानमा बिहान तुवाँलो देखिएको छ। विशेषगरी गण्डकी प्रदेशका उच्च भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको जनाइएको छ।
मौसमविद्का अनुसार सोमबार बिहान तराईका केही क्षेत्रमा हुस्सु लाग्नेछ। बागमती प्रदेश सहित कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ। ती प्रदेशका पहाडी क्षेत्र तथा अन्य हिमाली भागमा आंशिक बदली रहने अनुमान छ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतः सफा रहनेछ।
कोशीका पहाडी र हिमाली क्षेत्रसँगै बागमती र गण्डकीका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यात्रा तथा पर्वतीय गतिविधिमा संलग्नहरूलाई मौसमको अद्यावधिक सूचना हेरेर सतर्कता अपनाउन आग्रह गरिएको छ।











