सिलगढी। देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहँदा विभिन्न प्रदेशको मौसममा बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु लागेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेशसहित ती प्रदेशका बाँकी भूभाग तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
यस्तै, शुक्रबार राति तराईका केही स्थानमा तुवाँलो लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका उच्च हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
हुस्सु, तुवाँलो तथा हिमपातका कारण दैनिक जनजीवन र यातायात प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले सम्बन्धित सबैमा अनुरोध गरेको छ











