सिलगढी,माघ-१३
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल रहनेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ भने अन्य भू–भागमा आंशिक बादल रहने अनुमान गरिएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ। बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात र वर्षा हुन सक्नेछ।
यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा तथा तराई भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा मेघगर्जन र चट्याङको जोखिम पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।











