कञ्चनपुर ,
कञ्चनपुरमा डेङ्गु सङ्क्रमण पछिल्ला वर्षमा बढ्दो क्रममा रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ। पछिल्ला चार महिनामा मात्रै ८४ जनामा डेङ्गु पुष्टि भएको छ। महाकाली प्रादेशिक अस्पतालमा २२ जना, पुनर्वासमा ३०, भीमदत्तमा १८, वेदकोटमा ४ र दोधारा–बेलडाँडीमा पाँच–पाँच जनामा सङ्क्रमण देखिएको छ।
गत आर्थिक वर्ष (२०७९/८०) मा जिल्लामा २९४ जनामा डेङ्गु पुष्टि भएको थियो। भीमदत्त नगरपालिकामा मात्र १६५ जनामा सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ। डेङ्गुका कारण भीमदत्त र बेलौरी नगरपालिकामा दुई जनाको मृत्यु पनि भएको थियो।
स्वास्थ्यकर्मीहरूका अनुसार डेङ्गुको विशेष उपचार वा खोप नभएकाले लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य उपाय हो।
स्क्रब टाइफसका बिरामी पनि बढे
कञ्चनपुरमा स्क्रब टाइफसका संक्रमितसमेत बढ्दै गएका छन्। महाकाली प्रादेशिक अस्पतालमा चार महिनामा ३६ जनामा संक्रमण देखिएको छ। गएको वर्ष अस्पतालमै १६५ जनामा स्क्रब टाइफस पुष्टि भएको थियो।
आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा ३०६ जनामा संक्रमण भेटिएकोमा २०८१/८२ मा यो संख्या बढेर ४१५ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।
कहिलेकाहीँ केही पालिकामा संक्रमण दर घटेको पनि देखिन्छ। बेदकोटमा अघिल्लो वर्ष ५२ संक्रमितमध्ये यो वर्ष ३४ पुगेका छन्। पुनर्वासमा १२ बाट एक जनामा मात्र संक्रमण देखिएको छ। बेलडाँडी र बेलौरीमा पनि संक्रमितको संख्या घटेको कार्यालयले जनाएको छ।
स्वास्थ्यकर्मीहरूको भनाइमा नियमित सरसफाइ, सतर्कता र स्वास्थ्य जाँचले संक्रमण नियन्त्रणमा सहयोग पुगेको छ।











