सिलगढी/ हमास र इजरायलबीच सहमति भएको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धकहरू रिहा गरिने भएको छ। यसक्रममा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकहरूको नामसूची सार्वजनिक गरिएको छ, जसमा नेपालका विपिन जोशी पनि समावेश छन्।
अमेरिकी दैनिक वाशिङ्टन पोस्ट लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यो जानकारी दिएका छन्।
यसअघि सीएनएन ले विपिन जोशीसहित दुई जनाको अवस्था अज्ञात रहेको समाचार प्रकाशित गरेको थियो। तर हाल टाइम्स अफ इजरायल, एसोसिएटेड प्रेस (एपी) लगायतका स्रोतहरूले जारी गरेको सूचीमा विपिनको नाम समेत रहेको पुष्टि भएको हो।
शुक्रबार भएको युद्धविराम सम्झौताअनुसार, सोमबारदेखि मंगलबारसम्म बन्धकहरू रिहा हुने अपेक्षा गरिएको छ। सो क्रममा इजरायलले पनि करीब दुई हजार प्यालेस्टिनी कैदीलाई मुक्त गर्ने तयारी गरेको बताइएको छ।
जीवित ठानिएका २२ बन्धकमध्ये नेपालका जोशीसमेत फिर्ता आउने सम्भावनाले देशभर खुशी र आशा जगाएको छ।
सूचीमा अन्य जीवित बन्धकका रूपमा —
गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चाइम ओहाना, एलोन ओहेल, अविनाटन ओर र मातान जंगाउकर रहेका छन्।











