
सिलगढी — देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागका केही स्थानहरूमा भने हाल पनि पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको हो।
महाशाखाले जारी गरेको दैनिक मौसम बुलेटिनका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराई भू–भागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू–भागका थोरै ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ।
महाशाखाका अनुसार आज राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराई भू–भागमा आंशिक बदली रहनेछ। यस अवधिमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।