सिलगढी — हाल देशभर मनसुनी वायुले प्रभाव जमाउँदै लगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ सक्रिय रहेकाले अहिले मधेस र बागमती प्रदेश लगायतका पहाडी भूभागहरूमा सामान्य बदली छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ।
बागमती प्रदेशका केही, कोशी प्रदेशका थोरै र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी प्रदेश र देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा र चट्याङको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ भने देशका उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा वर्षासँगै हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ।
महाशाखाले भारी वर्षा सम्भावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।











