धनगढी, — डिभिजन वन कार्यालय धनगढी, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई सात लाख ३१ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार यादवलाई रंगेहात पक्राउ गरेको हो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिअनुसार चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको बिमर्का र छोडपुर्जीको प्रक्रिया मिलाइदिने भन्दै सेवाग्राहीसँग यादवले घुस मागेको उजुरी प्राप्त भएको थियो।
उजुरीका आधारमा अनुसन्धानमा खटिएको टोलीले यादवलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। आयोगले यादवमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।











