सिलगढी – हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव पनि परेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहिरहेको छ भने अन्य भूभागमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिमका धेरै स्थान र कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूले मनसुनी सक्रियताका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन्।











