सिलगढी– हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकोले आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ भने कोशी र बागमतीका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा पनि हुन सक्छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । यी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
मौसम विभागले उच्च पहाडी तथा हिमाली भूभागका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।











