सिलगढी — हाल देशभर मनसुनी वायुको प्रभाव जारी रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकोले देशभर आंशिकदेखि साधारणतया बदली भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरूमा र मधेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ। उच्च–पहाडी तथा हिमाली भू–भागमा पनि हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।
आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यीमध्ये कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, साना–ठूला नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारण र सरोकारवालाहरूलाई आग्रह गरेको छ।











