सिलगढी — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरस्वरूप कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी भूभागमा सामान्यतया बदली भएको छ भने बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम सामान्य रूपमा खुल्ला छ।
महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानहरूमा अहिले हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी कर्णाली, सुदूरपश्चिम र अन्य पहाडी क्षेत्रका केही स्थानमा तथा बाँकी भूभागका थोरै ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने पनि पूर्वानुमान गरिएको छ।
कोशी र मधेस प्रदेशका केही तराई क्षेत्रहरूमा हावाहुरीको सम्भावना पनि रहेको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित अधिकांश पहाडी क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।
महाशाखाले सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै पहिरो, बाढी र हिउँपहिरो जस्ता प्राकृतिक जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।











