कैलाली — धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडकखण्डमा आइतवार बिहान भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेश ०१०१२ प ४६४८ नम्बरको स्कुटर अत्तरियातर्फ जाँदै गर्दा बिहान करिब साढे ६ बजे अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए।
दुर्घटनामा स्कुटर चालक धनगढी उपमहानगरपालिका–७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए।
स्कुटरमा सवार धनगढी–१२ की ३२ वर्षीया सिता कुश्मी घाइते भएकी छन्। उनको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ।











