सिलगढी — हाल देशको पश्चिम र मध्य भेगमा पश्चिमी वायु तथा स्थानीय वायु सक्रिय छन् भने कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका धेरैजसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने चेतावनी दिइएको छ। साथै, उच्च पहाडी र हिमाली क्षेत्रका केही भागहरूमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा पनि मौसम बदली नै रहने देखिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहन सक्छ भने अन्य क्षेत्रको मौसम मुख्यतया सफा वा आंशिक बदली रहनेछ।
विभागले सम्भावित भारी वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।











