
सिलगढी /डोटीका चर्चित गायक अमर लामाको ४७ वर्षको उमेरमा निधन भएको छ। बडीकेदार गाउँपालिका–३ देवल स्थायी घर भई हाल कैलालीको चुरे गाउँपालिकास्थित खानीडाँडामा बस्दै आएका लामाको सोमबार राति काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका लामा चैत १७ गते स्वास्थ्य समस्या भएपछि धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा सुधार नआएपछि वैशाख १४ गते उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको थियो।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले लामाले सुदूरपश्चिमको कला, संगीत र संस्कृतिमा पुर्याएको योगदान अमूल्य रहेको बताए। डेउडा प्रतिष्ठानका अध्यक्ष सुरत रावतले भने, “लामाको निधनले सुदूरपश्चिमको संगीत क्षेत्र एक जना समर्पित सिपाही गुमाएको छ।”
गायक लामाको मृत्युले सुदूरपश्चिमको सांगीतिक परिवेशमा गहिरो शोक छाएको छ।