सिलगढी /पाकिस्तानस्थित आतंकवादी ठेगानामा भारतले बुधवार बिहान कडा प्रतिघात गर्दै ‘अप्रेशन सिन्दूर’ सञ्चालन गरेको छ। पहलगाम आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको घटना भएको १५ दिनपछि भारतीय वायुसेनाले पाकिस्तान अधिकृत कश्मीरमा एअर स्ट्राइक गर्दै प्रतिउत्तर दिएको हो।
दैनिक भास्करका अनुसार, यस कारबाहीमा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ। भारतीय सेनाले बहावलपुर, मुरीदके, बाघ, कोटली र मुजफ्फराबादका नौ वटा आतंकवादी क्याम्पहरूलाई निशाना बनाएको हो।
न्यूज एजेन्सी एएनआईका अनुसार, लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मदका मुख्यालयहरू नष्ट गरिएको छ। पाकिस्तानको इन्टर–सर्भिसेस पब्लिक रिलेशन्स (ISPR) का अनुसार भारतले कुल २४ वटा मिसाइल प्रहार गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयं ‘अप्रेशन सिन्दूर’ को निगरानी गरेका थिए। भारतीय सेनाले भने उक्त कारबाही पाकिस्तानी सेनालाई नभई आतंकवादी संरचनालाई लक्षित गरिएको स्पष्ट पारेको छ।











