डोटी, वैशाख २१ – डोटी जिल्लाको जोरायल गाउँपालिका–१, गोगनपानीस्थित भीमदत्त राजमार्गमा बोलेरो जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजना व्यक्ति घाइते भएका छन्।
मंगलबार दिउँसो करिब ४ बजे बझाङबाट धनगढीतर्फ जाँदै गरेको से.१ ज ६२७ नम्बरको बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको सु.प.प्र. ०१–००९ प १०१४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक ३२ वर्षीय पदम सिंह धामी घाइते भएका हुन्। उनी बैतडी जिल्ला सिगास गाउँपालिका–२, कोल्टीका बासिन्दा हुन्।
दुर्घटनामा उनको दायाँ खुट्टा र दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते धामीको अवस्था मध्यम रहेको र उनलाई उपचारका लागि नवजीवन अस्पताल, धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
बोलेरो गाडी बझाङ बुङ्गल नगरपालिका–३, दह निवासी ३२ वर्षीय कृष्ण धामीले चलाएका हुन् ।। जिप र चालक दुवैलाई प्रहरी नियन्त्रणमा लिइएको छ भने दुर्घटनापछि सडकमा कुनै अवरोध नरहेको प्रहरीको भनाइ छ।











