कञ्चनपुर, वैशाख ११ – कञ्चनपुरको बेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकसिंह विष्टको निधन भएको छ। विष्टको बुधबार महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
बिहान वडा कार्यालयमा सामाजिक सुरक्षाभत्ता वितरण गरेपछि कामका लागि मोटरसाइकलमा निस्किएका उनी बेदकोटताल क्षेत्रमै बेहोस अवस्थामा भेटिएका थिए। तत्काल अस्पताल पुर्याइए पनि उपचारकै क्रममा उनको ज्यान जोगिन सकेन।
कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले विष्टको निधनको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए। विष्टको निधनले बेदकोट क्षेत्रमा शोकको छायाँ छाएको छ।
नेपाली सेनाबाट सेवानिवृत्त विष्ट विसं २०७९ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)**को तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
जनताको सेवामा समर्पित विष्टको अकाल निधनले स्थानीय तहले एक कर्मठ र इमानदार जनप्रतिनिधि गुमाएको स्थानीयवासीहरूले बताएका छन्।











