
सिलगढी, चैत्र ३० गते – कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। देशको अधिकांश पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने तराई तथा अन्य भू–भागहरूमा मौसम मुख्यतः सफा देखिएको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायुसँगै अरब सागरबाट आउने जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय छ। यही प्रणालीका कारण शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश र अन्य पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्का वर्षा र हिमपातको सम्भावना समेत रहेको छ।
केही दिनदेखि देशभर फैलिएको बाक्लो तुवाँलो अब क्रमशः घट्दै जाने महाशाखाले उल्लेख गरेको छ। तर मेघगर्जन, चट्याङ, वर्षा र हिमपातका कारण स्वास्थ्य, जनजीवन, कृषि, यातायात र हवाइ सेवा प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सर्वसाधारणलाई आवश्यक सुरक्षात्मक उपाय अवलम्बन गरी सतर्क रहन महाशाखाले पुनः स्मरण गराएको छ।