अछाम — अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–५ स्थित जयगढ बजारमा मंगलबार साँझ भीषण आगलागी हुँदा करिब एक दर्जन पसल जलेका छन्। ग्यास सिलिन्डर विस्फोट भई सल्किएको आगो तीव्र रूपमा फैलिँदा करोडौंको क्षति भएको छ।
प्रहरीका अनुसार साँझ ७ बजेतिर सुरु भएको आगलागी मध्यरातिसम्म नियन्त्रणमा आउन सकेको थिएन। अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार किराना, कपडा, भाडा तथा सुनचाँदी पसलहरूमा ठूलो क्षति भएको छ। “मध्यरातिसम्म आगो नियन्त्रणमा आएको छ, क्षतिको यकिन विवरण बुधबार मात्रै आउँछ,” उनले बताए।
सदरमुकाम मंगलसेनबाट मगाइएको दमकल साँघुरो गल्ली भएका कारण ढिलो पुगेको थियो। आगो निभाउन गोरखबक्स गणका सैनिक, शसस्त्र प्रहरी बल खप्तड गुल्म तथा प्रहरीको विभिन्न टोली परिचालित भएका थिए।
युवाहरूद्वारा गाउँपालिका अध्यक्षमाथि आक्रमणकाे प्रयास
आगो समयमा नियन्त्रणमा नआएको भन्दै आक्रोशित स्थानीय युवाहरूको एक समूहले गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदमाथि आक्रमणको प्रयाससमेत गरेका छन्। डिएसपी भण्डारीका अनुसार जयगढ बजारको धारापानी क्षेत्रबाट आएका युवाहरूले अध्यक्ष साउँदलाई धकेलपकेल गर्नुका साथै गाउँपालिका कार्यालयमा आगो लगाउने धम्की दिएका थिए।
प्रहरीले हस्तक्षेप गरेपछि ती युवाहरू भागेका थिए। उनीहरू निगरानीमा रहेको र पक्राउ गरी आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ।











