
सिलगढी / देशमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रहरूमा मौसम आंशिक बदलीदेखि सफा रहेको छ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
देशका धेरै स्थानमा लामो समयदेखि वर्षा नहुनाले वायुमण्डलीय सुख्खापन, आगलागीको जोखिम र वायु प्रदूषण बढ्न थालेको छ, जसले स्वास्थ्य, कृषि, जनजीवन तथा यातायातमा असर पार्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले खुला स्थानमा आगो नबाल्न, मास्कको प्रयोग गर्न र दीर्घरोगी, बालबालिका तथा वृद्धवृद्धाले विशेष सावधानी अपनाउन सुझाव दिएको छ।