काठमाडौं, चैत — २४
डोटी जिल्लामा स्थापना गर्न लागिएको खप्तड इञ्जिनियरिङ क्याम्पसको सञ्चालन सुनिश्चित गर्न आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रम समावेश गर्न माग गरिएको छ। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै नेपाली काँग्रेस, नेकपा (एमाले) लगायत विभिन्न दलका प्रतिनिधिहरूले उक्त माग अघि सारेका हुन्।
दिपायल सिलगढी नगरपालिका–६, थाप्लामा त्रिभुवन विश्वविद्यालयको मातहत प्राविधिक आङ्गिक क्याम्पसका रूपमा सञ्चालन गर्ने तयारी भए पनि जनशक्ति र बजेटको अभावमा काम अघि नबढेको भन्दै प्रतिनिधिमण्डलले उच्च राजनीतिक तहमा ध्यानाकर्षण गराएको हो।
मागपत्र बुझाउन प्रतिनिधिमण्डलमा पूर्वमन्त्री वीरबहादुर बलायर, संविधानसभा सदस्य गौरी वली र भरतबहादुर खड्का, सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्ल, जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्का, केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही, काँग्रेस जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, एमाले जिल्ला अध्यक्ष मञ्जु मलासी लगायत सहभागी थिए।
प्रतिनिधिमण्डलसँगको छलफलमा प्रधानमन्त्री ओलीले डोटी क्षेत्र विकासमा पछि परेको आफूलाई जानकारी भएको उल्लेख गर्दै क्याम्पस सञ्चालनका लागि आवश्यक सहयोग गरिने आश्वासन दिए। उनले बजेट विनियोजन स्रोत सुनिश्चितता गरेर मात्र गर्ने बताउँदै क्याम्पसमा छात्रावास निर्माणलाई अनिवार्य बनाउन सके टाढाटाढाबाट आउने विद्यार्थीका लागि सहज हुने धारणा राखे।
प्रधानमन्त्रीको उपस्थितिमा भएको कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गृहमन्त्री एवं काँग्रेस नेता रमेश लेखकसमेत सहभागी थिए।











