डाेटी / डोटीमा चलिरहेको बोलेरो जीपबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आदर्श गाउँपालिका–२, कुचेडाका ३४ वर्षीय गाडी साहु ज्ञानेन्द्र बहादुर बोहरा रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सोमबार बेलुकी करिब ६ बजे दिपायलबाट आदर्श गाउँपालिका जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ४११८ नम्बरको बोलेरो जीपबाट खसेर बाेहराकाे मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईकाअनुसार जीपको पछाडिको ढालामा बसिरहेका बोहरा अचानक खसेर घाइते भएका थिए। उनकाे दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारकाे क्रममा चिकित्सकले मृत घोषणा गरेकाे डाेटी प्रहरीले जनाएको छ ।
जीपका चालक आदर्श गाउँपालिका–३, नुवाकोट निवासी २३ वर्षीय विराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।











