
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको चर्को आलोचना भइरहेको छ। पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त निर्णयलाई “कुकर्म” भन्दै सरकारको कदमको विरोध गरेका छन्।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक (मेटा) मार्फत सरकारको निर्णयको घोर भर्त्सना गर्दै देशलाई संकटबाट बचाउन सबैलाई संगठित हुनुपर्ने उल्लेख गरेका छन्। उनले भनेका छन्,
“नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको स्वेच्छाचारी, निरंकुश र दुराशयपूर्ण निर्णयको जति निन्दा गरे पनि कम हुन्छ। यो सुशासनको धज्जी उडाउँदै देशलाई थप संकटमा धकेल्ने लज्जास्पद कुकर्मको पराकाष्ठा हो। यस्तो आपत्तिजनक कार्य, प्रवृत्ति र शक्तिलाई परास्त गर्न सबैले संगठित भूमिका खेल्नुपर्छ।”
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले मैनबत्ती बालेर विरोध जनाएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कुलमान घिसिङलाई हटाउने निर्णयको चर्को आलोचना गर्दै यसको स्वामित्व कांग्रेसले नलिने स्पष्ट गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,
“सरकारको कुशासनको निरन्तरताको अर्को कडी: कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न सरकारले गर्न सक्छ, न पार्टीले। नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न। यसरी कतिदिन चल्ने?”
कुलमान घिसिङको बर्खास्तीप्रति सरकारको कदमको चौतर्फी विरोध भइरहेका बेला सरकारको औपचारिक प्रतिक्रिया भने आउन बाँकी छ।