
सिलगढी, फागुन २४ गते,
हरेक विशेष अवसरलाई उत्सवको रूपमा मनाउने हाम्रो परम्परा छ। जन्म दिनमा केक काट्ने, विवाहमा भोज गर्ने, नयाँ भवन निर्माण गर्दा उद्घाटन समारोह गर्ने, भेट हुँदा उत्सव मनाउने, बिछोड हुँदा समेत विशेष सम्झना गर्ने चलन हाम्रो समाजमा विद्यमान छ। वर्तमान समयमा त झन उक्त कार्यहरू समाजमा अनगिन्ती । तर जब एउटी किशोरी पहिलो पटक महिनावारी हुन्छिन्, त्यो दिनलाई उत्सवको रूपमा मनाउने सोच हामी किन राख्दैनौं? भन्ने प्रश्नको जवाफ यस वर्षको ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस विशेष अवसरमा डाेटीमा अभिभावकहरूले नै दिएका छन् ।
जिल्लाकाे दिपायल सिलगढी नगरपालिका वडा नं. ८, लडागडामा पहिलो पटक महिनावारी भएकी एक किशोरीको तेस्रो दिनमा परिवारका सदस्य, छिमेकी तथा समाजसेवीहरूले उनको “पहिलो महिनावारी उत्सव” मनाएकाे छ ।
सुना देवी बाल क्लब द्वारा आयोजित कार्यक्रममा स्थानीय रूपमा परम्परागत मिठाइ तिलको लड्डु खुवाउँदै किशोरीलाई आशीर्वाद दिइएका छन् । उक्त उत्सवमा किशोरीका बुवा, आमा, दाइ, भाउजू लगायत छिमेकीहरू सहभागी भएका थिए ।
हाम्रो समाजमा किशोरी परसरेपछि अथवा रजस्वला भएपछि १० दिनसम्म छुनु हुँदैन भन्ने परम्परागत धारणा अझै जीवितै छ । तर सशक्त महिला समृद्धि परियोजना, पिसविन नेपाल, र युनेफपि को प्राविधिक सहयोग गरिएकाे कार्यक्रममा उक्त धारणालाई ताेड्दै महिनावारीलाई प्राकृति प्रक्रियाकाे रूपमा लिएर उत्सव मनाएका छन् ।
महिनावारी हुनु एउटा प्राकृतिक प्रक्रिया मात्र नभई, किशोरी आमा बन्न सक्ने उमेरमा प्रवेश गरेको संकेत पनि हो। यस अवसरलाई समाजले सकारात्मक रूपमा स्वीकार्दै खुसियालीका साथ मनाउनु लैंगिक समानता र महिलाका अधिकारहरूलाई सम्मान गर्ने एउटा महत्वपूर्ण पाइला हो भन्ने सशक्त महिला सम्वृद्व परियाेजनाकि कर्मचारी रमा भण्डारीकाे धारण छ ।
साथै, महिनावारीसँग जोडिएको छाउपडी प्रथा अन्त्य गर्ने उद्देश्यले घरदैलो अभियान पनि सञ्चालन भण्डारीकाे भनाइ छ । असुरक्षित रूपमा बनाइएका छाउगोठहरूको पूर्ण रूपमा निर्मूल गर्नका लागि स्थानीय तहको ध्यानाकर्षण गाएकाे उनले बताइन् ।
साथै यस किसिमका पहलहरूले महिलाहरूको स्वास्थ्य, सुरक्षा र सम्मानलाई प्रवर्द्धन गर्नुका साथै समाजमा सकारात्मक परिवर्तन ल्याउने आशा स्थानीय शिक्षित वर्गहरूकाे छ । महिनावारीबारे खुलेर कुरा गर्ने, यसलाई लाज वा अपमानको विषय नराख्ने, बरु स्वाभाविक जीवनचक्रको रूपमा स्वीकार्ने परम्परा बसाल्न यस्ता उत्सवहरू प्रेरणादायक बन्न सक्छन् , भन्ने कुरामा स्थानीय बुद्धिजीवीकाे दुई मत छैन् ।