बाजुरा / बाजुरामा विवाहमा झडप हुँदा एक जनाकाे मृत्यु भएकाे छ । जिलाकाे बुढीगंगा नगरपालिका–८ मोटाबाडमा विवाहमा आएका युवाहरूबीच दोहोरो झडप हुँदा बुढीगंगा नगरपालिका-९ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापाको मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ ।
बिहीवार मध्यराति विवाहको निम्तोमा गएका दुई समुहबीच आगो ताप्ने क्रममा भएको सामान्य विवादमा दोहोरो झडप भएको हाे । झडपका क्रममा बुढीगंगा–७ का युवाहरुको समूहले आक्रमणका क्रममा ओखलमा धान कुट्ने मुसल प्रहार गर्दा थापा गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलीपकुमार गिरीका अनुसार घाइतेलाई उपचारका लागि अछामको बयालपाटा अस्पताल पुर्याइएको र शुक्रवार उपचारका क्रममा उनको मृत्यु भएको जनाएको छ ।











