
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री
रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा हाजिर हुने भएका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी आज अदालत उपस्थित हुन लागेका हुन् ।
सुप्रिम सहकारी ठगीमा २२ जनालाई प्रतिवादी बनाउँदै गत आइतबार नै जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोग दर्ता भइसकेको छ । पूरक अभियोगमा प्रतिवादी बनाइएका २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो कायम गरिएको छ ।
हरेक प्रतिवादीको कहाँकहाँ संलग्नता देखिएको छ भन्ने पनि अभियोगमा खुलाइएको छ । रवि लामिछाने यसमध्ये १३ करोड रुपैयाँको हिनामिनामा संलग्न रहेको अभियोग छ । यसमध्ये ४ करोडभन्दा बढी रविको भागमा बिगो कायम हुनेछ ।
यसअघि लामिछानेले कास्की पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत कास्कीमा ६५ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए । त्यसपछि काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालतमा समेत हाजिर भएका थिए । काठमाडौंको मुद्दामा पनि उनले ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए ।
धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले सुप्रिम सहकारी ठगी प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । कास्की प्रहरीले अनुसन्धान गरिरहेकै बेला बुटवलको सुप्रिम सहकारी प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । यहीबीच गत २७ कात्तिकमा उनले बुटवलस्थित सरकारी वकिल कार्यालयमा बयान दिएका थिए ।
लामिछाने मंगलबार नै काठमाडौंबाट रुपन्देही पुगिसकेका छन् ।