सिलगढी / डाेटीमा विवाहकाे भाेज खाँदा ६० जना बिरामी परेका छन् । जिल्लाकाे आदर्श गाउँपालिका १ बाँझमा दुलाहा पक्षका ३ र दुलही पक्षका ५७ जना गरी ६० जना विवाहको भोजमा सुजीको हलुवा लगायत अन्य खानाका परिकारहरु खाँदा बिरामी परेका जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ । उनीहरू साेही ठाउँ बस्ने नरबहादुर बि.क. की छोरीको विवाहकाे भाेज खाँदा विरामी परेका हुन् ।
प्रहरीकाअनुसार सुरूमा शनिबार दुलही पक्षका ३ जनालाई ज्वरो आउने, वान्ता हुने र पखालाको समस्या भएको र आज आइतबार दिउँसो दुलही पक्षका ५७ जनाको स्वास्थयमा सोही समस्या देखा परेको जनाएको छ ।
बिरामी परेका सबै जनाकाे आदर्श गाउँपालिका स्वास्थ्य शाखाको टोलीद्वारा स्थानिय स्वास्थ्य चौकी बाँझमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयो । बिरामीहरूकाे रगतको नमुना जिल्ला अस्पताल डोटीमा ल्याई परिक्षण भईरहेको छ । भट्टराईकाअनुसार बिरामी सबैको अवस्था सामान्य छ ।
घटनामा प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको कमाण्डमा ७ जनाको टोली खटिएको छ ।











