काठमाडौं, ५ माघ । नेकपा (माओवादी केन्द्र) ले नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेकाे बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेकपा माओवादीका नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले आफूहरु देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेको बताएका छन् ।
संवादमा नेता शाहीले आफूहरुले पहिलादेखि नै देउवालाई प्रधानमन्त्री बनाउन चाहेको बताए । उनले एमालेको साथ छाडेर कांग्रेस सरकारबाट बाहिरिएको अवस्थामा देउवालाई माओवादीको समर्थन रहने सुनाए ।
‘नेता शाहीले थपेका छन् ‘हामीले त पहिले नै भनेको नि, ठूलो राजनीतिक दलको नेता नै स्वतः प्रधानमन्त्री हुने व्यवस्था छ, त्यो व्यवस्थाअनुरुप शेरबहादुर देउवा प्रधानमन्त्री हुन् भन्ने हिसाबले नै हामी गएको हो नि त ,आखिर उहाँहरु जान चाहनु भएन, हाम्रो सहमति भइसक्यो, हामीले जे सहमति गरेका छौं, कार्यान्वयन गर्छौं भनेर उहाँहरुले भन्नुभयो , त्यो त उहाँहरुको कुरा हो ।”
साथै माओवादीले एमालेका अध्यक्षसमेत रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन नगर्ने उनले बताए । नेता शाहीले ओलीमा विश्वासघात, आपराधिक मानसिकता भएको साँचो कुरा नभन्ने र दुनियाँलाई बेकुफ बनाउने प्रवृत्ति रहेको बताए ।
नेता शाहीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै एमालेले प्रधानमन्त्री बनाउन खोजेको खण्डमा पनि आफूहरुलाई त्यो स्वीकार्य नहुने बताए । माओवादीले अहिले सरकार ढाल्न नचाहेको, आफूहरु सत्तामा रहँदा गरेको काम जनतालाई जानकारी गराउन र जनताको कुराहरु सुन्नेतर्फ आफूहरु लागेको उनले बताए ।











