
सिलगढी / अमेरिकाको क्यालिफोर्नियामा आगलागीबाट अहिलेसम्म १६ जनाको मृत्यु भएकाे छ । ११ जनाले इटनको आगोका कारण ज्यान गुमाएका हुन् भने ५ जनाले पालिसेडमा भएको आगलागीमा ज्यान गुमाएका छन् । पालिसेडको आगो पूर्वतर्फ फैलिरहेको र यसै कारण ब्रेन्टफोर्डमा सतर्कता अपनाउन आग्रह गरिएकाे छ ।
आइतबार बिहानै सान्टा आना हुरीका कारण स्थिति झनै तनावग्रस्त बनेको छ । लस एन्जलसको आगो निभ्नेतिर देखिए पनि हावा हुरीका कारण समस्या बढेको छ ।
अहिले लस एन्जलसमा अनधिकृत निजी ड्रोनह्ररू उडिरहेका छन् । यसले आउन सक्ने समस्यालाई मध्यनजर गर्दै सरकारले चेतावनी दिएको छ । २४ घण्टामा निषेधित क्षेत्रमा ३० वटासम्म अनधिकृत ड्रोन उडाइएको समाचारमा उल्लेख छ ।