सिलगढी / डाेटीसहित सुदूरपश्चिम प्रदेशमा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदै छ । पुस पन्ध्रकाे रात सबैभन्दा ठूलाे रात हुनेभएकाले ठूली रात अथवा पन्नरकी रातले याे पर्व प्रचलित छ । आजकाे रात तरूल, फर्सी, पिँडालु, सखरखण्ड, सेलरोटी, भक्केराेटी, माणा, बाबर, पुरी जस्ता मिठामिठा परिकार मनाएर खाइन्छ । रातकाे समयमा आगाे तापेर बाती हाल्दै पन्ध्रकाे रात कटाउने प्रचलन छ । डोटेली लोकसंस्कृतिमा लोक कथा, दन्त्य कथा र बुढापाकाबाट अर्ती उपदेश सुन्ने प्रचलन रहेकाे स्थानीय बुद्धिजीवीकाे भनाइ छ ।
साथै आजकै दिन साँझदेखि माघे संक्रान्तिकाे दिन महिलाहरूद्वारा मनाइने पुतला जगाउने प्रचलन रहेकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर २ कि स्थानीय ५५ वर्षीय जुली देवी ठकुल्लाले बताइन् । आजकै दिनबाट माघे संक्रान्तिकाे दिन पाेलिने मुडा काटेर जम्मा गर्ने प्रचलन रहेकाे उनले बताइन् ।
पुस पन्ध्र गतेको राती न सुतेर गाउँ खाने कथा र दन्ते कथा सुनेर अथवा सुनाएर रात बिताउने परापूर्वकालदेखि रहेकाे डाेटी जिल्ला सदरमुकाम बासी ७८ वर्षीय प्रेमलाल महतले बताउनुभयो ।











