रामहरि ओझा
मङ्सिर ५, डोटी ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको समुन्नतिका लागि वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व दुवै फेर्नु पर्ने बताएका छन् ।
राप्रपा डोटीद्वारा डोटीको दिपायलमा आयोजित आमसभालाई सम्बोधन गर्दे लिङ्देनले देशको अभिभावकीय भूमिकामा राजसंस्था रहनु पर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनु पर्ने बताए । “राजसंस्थालाई अभिभावकीय भूमिकामा राख्नु पर्छ, प्रधानमन्त्रीलाई जनताले प्रत्यक्ष चुन्न पाउने व्यवस्था गरिनुपर्छ” उनले भने ‘यस्तो भए मात्र प्रधानमन्त्री देशभरिका जनताप्रति उत्तरदायी हुन्छ ।’ उनले वर्तमान प्रधानमन्त्री झापा निर्वाचन क्षेत्र ५ बाट निर्वाचित भएका कारण उनी देशका अन्य निर्वाचन क्षेत्रका जनताप्रति त्यति उत्तरदायी नहुने बताए । उनले थपे ‘यो व्यवस्थामा अरू कोही प्रधानमन्त्री हुँदा पनि यस्तै हुने हो ।’
देशमा भ्रष्टाचार मौलाउनुमा व्यवस्था र नेतृत्व दुवै दोषी रहेको लिङ्देनको दाबी छ । उनले एमाले, काँग्रेस र माओवादीले मिलेर देश लुटिरहेको समेत आरोप लगाए । ‘२०४६ सालदेखि तिनै व्यक्तिहरूले पटक पटक नेतृत्व गर्दै देश डुबाउने काम गरेका छन्’ उनले भने ‘अव पनि यी दल र नेतृत्वबाट देशको समृद्धि हुन्छ भन्ने भ्रममा पर्नु भनेको हाम्रा सन्ततीहरुलाई समेत दुःखमा धकेल्नु हो ।’
राप्रपा अध्यक्ष लिङ्देनले खराब नेतृत्वकै कारण आज युवाहरू आफ्नो र परिवारको पेट पाल्नकै लागि बिदेसिन बाध्य भएका बताए । ‘आज हरेक आमाबुवाले छोरो कति छिटो ठुलो होला र रोजगारीका लागि भारत वा तेस्रो मुलुक पठाउँला भनेर दिन गन्दै बसेका हुन्छन्’ उनले भने ‘गरिबका छोराछोरीले विदेशबाट रेमिटेन्स नपठाए देशमा न व्यापार व्यवसाय चल्छ न दसैँ तिहार आउँछ ।’
पुराना दल र नेताहरूले देशलाई ३५ वर्षदेखि बन्धक बनाएर राखेको उनको आरोप छ । उनी थप्छन् ‘अन्य देशका नागरिकहरू यो अवधिमा मङ्गल ग्रहमा, चन्द्रमामा पुगिसके हाम्रो देशमा एक गाउँबाट अर्को गाउँमा जाने पुल बन्दैन, बिरामी हुँदा अस्पताल जान एम्बुलेन्स पाइँदैन ।’ उनले देश बरबाद हुनुमा नेताहरू मात्र दोषी नभएर ती भ्रष्ट नेतालाई भोट दिने जनता पनि दोषी भएको बताए । उनी भन्छन् ‘देश बन्न सक्छ, तर यो व्यवस्था र नेतृत्व परिवर्तन गर्नु प¥यो ।’ अध्यक्ष लिङ्देनले प्रदेश सभा खारेज हुनु पर्ने बताए । उनले भने ‘प्रदेश सभा खारेज हुनु पर्छ, राष्ट्रिय सभाको पनि काम छैन र सांसदहरूको सङ्ख्या पनि घटाउनु पर्छ ।’
काँग्रेस, एमाले र माओवादीमा वर्तमान नेतृत्व मात्र नभएर भविष्यमा पनि सक्षम नेतृत्व नभएको उनको दाबी छ । ‘शेरबहादुर, केपी ओली, प्रचण्डको मात्रै कुरा होइन, ती दलभित्रका कुन नेतालाई जिम्मेवारी दिए देश बन्छ त १’ लिङ्देनले भने ‘ती दलका कुनै पनि नेतालाई जिम्मेवारी दिए पनि देश बन्दैन, हामी भ्रममा पर्नु हुन्न ।’
उनले दलका कार्यकर्ताबाट न्यायाधीश छानिने व्यवस्था भएको देशमा निष्पक्ष न्यायको परिकल्पना गर्न नसकिने बताए । उनले थपे ‘त्यसैले यो भ्रष्ट व्यवस्था र नेतृत्व परिवर्तन गर्नका लागि राप्रपाले देशव्यापी रूपमा आन्दोलन चलाएको छ, यो अभियानमा डोटेली जनताले पनि साथ दिनु जरुरी छ ।
देश विकासका लागि बिद्युत् उत्पादन सबैभन्दा महत्त्वपूर्ण कुरा रहेको उनले बताए । हाल देशमा करिब तीन हजार मेगावाट मात्रै बिद्युत् उत्पादन भएको तर देशमा करिब एक लाख मेगावाट बिद्युत् उत्पादन गर्न सकिने सम्भावना रहेको बताउँदै उनले भने ‘यदि बिद्युत् उत्पादन गर्न सकियो भने पेट्रोलियम पदार्थको आयातलाई विस्थापित गर्न सकिन्छ र बिद्युत् निर्यात गर्न सकिन्छ ।’ उनले ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो’ भन्ने कसमलाई डोटीमा पुगेर पनि दोहो¥याए ।











