
मनमाेहन ठकुल्ला, डाेटी
डाेटीमा तिल उत्पादन प्रशस्त हुने गरेकाे भएपनि बजारमा खासै मूल्य पाउन नसकेकाे कृषकहरूले बताएका छन् । जिल्लाकाे अधिकांश क्षेत्रमा तिल र भातिबेथे विगत देखि उत्पादन हुँदै आएकाे भएपनि बजारमा थाेरै मूल्यमा बिक्री गर्नु परेकाे कृषकहरूकाे गुनासाे छ ।
तिल स्वास्थ्यका लागि लाभग्राही हुने गरेकाे भएपनि बजारमा मूल्य भने न्यून पाउने गरेकाे पूर्वीचाैकी गाउँपालिका वढा नम्बर २ कि स्थानीय कृषक हर्क देवी ठकुल्लाले बताइन् । परम्परागत रूपमा लगाउदै आएकाे तिल खेती बजारमा १ सय रूपैयाँ मानाका दरले बेच्नु परेकाे उनले बताइन् । उनले भनिन्,” बजारमा कतै बढि मूल्य पाइन्छ कि भनेर डुलाउनु पर्छ अन्ततः विगतकै न्युन मूल्यमा बिक्री गरेर फर्कनु पर्छ ।”
विगत ४/५ वर्ष पहिले बजारमा प्रति माना १ सय रूपैयाँका दरले बेचेकाे भएपनि वर्तमान समयमा आइपुग्दा त्यतिनै मूल्यमा तिल बेच्नु परेकाे स्थानीय दुर्गा देवी साउँदले बताइन् । बर्खे खेतीकाे रूपमा परापूर्व कालदेखि उत्पादन हुँदै आएकाे तिल पछिल्लो समयमा बजारमा आयातित तिल भित्रिदा स्थानीय तिललाई अपेक्षित बजारीकरण गर्न समस्या भएकाे बताइन् । उनले भनिन्,” ६ वर्ष पहिलाकाे र अहिलेकाे अन्य आयातित खाद्यकाे मूल्य आकाश पताल फरक छ, तर स्थानीय खाद्यकाे मूल्य पाइदैन, उत्पादन गरेर के गर्नु।”
त्यस्तै विगतदेखि नै गाउँघरमा तिल प्रसस्त उत्पादन हुने गरेकाे भएपनि उचित बजार भाव कारण किसानले तिल खेती गर्न छाेडेकाे आदर्श गाउँपालिकाका भुवनप्रसाद भट्टले बताएका छन् ।
यस वर्ष समयमै बर्षा भएका कारण तिल राम्रो उत्पादन भएकाे किसानहरूले बताएका छन् ।
कृषि ज्ञान केन्द्र डाेटीले उपलब्ध गराएकाे तथ्यांकअनुसार हाल जिल्लामा ६ क्षेत्रफल जमिनमा तिल खेति गरिदै आएकाे छ । पछिल्लो ३ वर्षयता डाेटीमा आर्थिक वर्ष २०७८/७९ मा ६ मेट्रिकटन तिल उत्पादन भएकाे छ भने आर्थिक वर्ष २०७९/८० मा ५ मेट्रिकटन तिल उत्पादन भएकाे छ । त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा ६ मेट्रिकटन तिल उत्पादन भएकाे कृषि ज्ञान केन्द्र डाेटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीले बताए ।
तिलकाे महत्त्व के छ ?
परम्परागत रूपमा गरिदै आएकाे तिल खेति पछिल्लो समयमा गाउँघरमा बन्यजन्तुकाे कारणले घट्दै गएकाे भए पनि तिललाई धार्मिक पूजाआजा र अचार, तेल तथा विभिन्न खानाका परिकारकाे रूपमा प्रयोग गरिन्छ । तिलले कोलेस्ट्रोल, क्यान्सर, चिन्ता कम गर्न,हड्डीलाई बलियाे बनाउन, मस्तिष्क घातक बाट बचाउन मद्दत गर्ने गर्छ । स्थानीय बुढेउलीकाअनुसार विशेषतः गर्भवती महिलाका लागि तिल अचुक लाभदायक मानिने बताउछन् ।