मनमाेहन ठकुल्ला, सिलगढी / डाेटीमा पछिल्लो ५ वर्षकाे अन्तरालमा १ सय २ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय डाेटीले दिएकाे तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा ३३ जना, आर्थिक वर्ष २०७७/७८ र २० ७८/७९ मा १९/१९ जनाले आत्महत्या गरेका छन् ।
त्यस्तै आर्थिक वर्ष २०७९/८० मा १३ मुद्दा दर्ता भएका छन् भने गत आर्थिक वर्ष २०८०/८१ मा २८ मुद्दा दर्ता भएका छन् । यसरी ५ वर्षकाे तथ्यांकलाई विश्लेषणात्मक ढंगले हेर्दा जिल्लामा झुन्डिएर आत्महत्या गर्नेकाे संख्या वृद्धि हुँदै गएकाे छ । अन्य वर्षकाे तुलनामा गत आर्थिक वर्षमा जिल्लामा झुन्डिएर आत्महत्या गर्नेकाे संख्या दाेब्बरले वृद्धि भएकाे छ ।
त्यस्तै चालू आर्थिक वर्षकाे ४ महिनाकाे अन्तरालमा ६ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय डाेटीकाअनुसार पछिल्लो समयमा प्रेम सम्बन्धमा तितोपना र पारिवारिक तथा सामाजिक तनावका कारणले आत्महत्या गर्ने गरेकाे पाइएकाे छ । प्रहरी निरीक्षक सूर्य भट्टकाअनुसार प्रेम सम्बन्ध र अनेक किसिमका मानसिक तनाबका कारणले आत्महत्या गर्नेकाे संख्या बढी पाइएकाे बताए ।











