सिलगढी / सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज एक विज्ञप्ति नै जारी गर्दै भोलि (बुधबार) देखि शनिबारसम्म भारी वर्षाको संभावना भएकाले सतर्कता अपनाउन अपिल गरेकाे छ ।
जल तथा मौसम विज्ञान विभाग,पूर्वानुमान महाशाखाले कुलेटिनमा उल्लेख गरेअनुसार बंगालको खाडीबाट प्रभाव हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, र डाेटी गरि चार जिल्ला उच्च ( रेडजाेन) जाेखिममा रहेकाे जानकारी प्राप्त भएको भन्दै मन्त्रालयले सचेत रहने प्रदेशवासीलाई आग्रह गरेको छ। त्यतिन्जेल कृषि क्षेत्रमा बढी प्रभाव पर्ने भएकाले कृषकलाई धानबाली नकाट्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार पहाडी भु–भागमा भु–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने तथा नदीनाला खहरे खोलाहरुमा पानीको जलप्रवाहले पानीको सतह बढ्ने सक्ने, बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिएमा सम्वन्धित जिल्ला र स्थानीय विपद व्यवस्थापन समति, सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटी तुरुन्त खबर गर्न मन्त्रालयले आग्रह गरेकाे छ ।











