
रोजेको धरणी छ स्वर्ग सरिको,हो जन्म मेरो धरा ।
मेरो शैल सदैव शान्त वसुधा,हो सिद्धको टाकुरा ।।
मैले आत्म कथा रचेँ मन भरी,बिन्ती छ ए ! नन्दन !
पाऊँ रम्न सदा यसै अवनिमा,हो आत्म को बन्दन !!
।।१।।
मेरा पूर्वजमा थियो अमरता,सौकार भन्थे सव ।
बस्थे कर्म सुकर्म साथ सँगमा,सम्झिन्छ गर्खा तब ।।
गर्थे दान विचार अन्न गहना,सत्कर्मका साधन ।
लेखेँ वात खुलस्त आज यति नै,क्यै अंश खोली कन।।
।।२।।
क्षेत्री वंश उद्दीप्त रम्छ यसमै,हुन् वीर पूर्खा झन ।
मिल्छन् एक सरी सुशान्त मनले,कामी दमाई पन ।।
काल्ढुङ्गो बिचमा रहन्छ यसमै,हो खास न्यायालय ।
आँटी पूर्वज जोस जाँगर अहो, बस्थे सदा निर्भय ।।
।।३।।
बूढो देव नमारथी र ईँगडे,रम्छन् सदा साथमा ।
लाटो देव र काफली पशुपती,बस्छन् यतै काखमा ।।
बस्छन् चौहती मल्ल साथ कटरे,यो देव मेरो थल ।
राम्रा छन् बन कुञ्ज धेर हरिया,बग्दैछ तेले जल ।।
।।४।।
मेरा साथ छ ताम्र पत्र अशली,वंशवली साथ छ ।
पैले का बम हौँ र आज महरा,त्यस्मा कुनै वात छ ।।
बेला को इतिहासले बदलियो,जाती र पाती पन ।
मार्कट्टे अशली छ ग्राम,पदवी,गौली सवै भन्छन ।।
।।५।।
तेलेका चुचुरा विशाल शिरमा,बस्छन् बडा सुन्दर ।
देखिन्छन् झन ती हिमाल पनि ता,कैलाश का मुन्तिर
चारौँ तर्फ अनेक ग्राम रसिला,भूस्वर्ग को काख झैँ ।
पाएँ स्वाद यतै र मुग्ध यसमै,पाएँ सदा लाख झैँ ।।
।।६।।
बोलीमा कटुता कदापि नरहोस् ,यो चित्तका कन्दरा ।
पाऊँ शान्त सजाइ राख्न जहिल्यै,सन्तोष का अन्तरा ।।
हाँस्ने ज्ञान कला प्रफुल्ल मनमा,पाऊँ सदा साथमा ।
आत्मा शुद्ध बनोस् सधैँ मगन भै,निन्दा नहोस् बातमा।
।।७।।
मेरो प्राण सरी थिए जुन यहाँ,साथी र सङ्गी सवै ।
देऊ साथ अझै अझै पशुपते,भुल्दै नभुल्ने कवै ।।
बा आमा अति प्रेय कोख गतिलो,पाऊँ अझै जन्मिन ।
नाता ईष्ट र मित्र गाउँ घरका,पाऊँ सधैँ सम्झिन ।।
।।८।।
(आफ्नै गाउँ को बिषयमा छोटो वास्तविक यथार्थ)
डिल बहादुर महरा
मिति :-२०७७/०५/२७/७