
सिलगढी / हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।
महाशाखाले आज राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने भन्दै गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा/हिमपातको सम्भावना रहेको बताएको छ।