कैलाली / सुदूरपश्चिममा १० दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरिएकाे छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले आज शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले शुक्रबार नेपालको संविधानको धारा १६८ उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि उक्त दिनभित्र दाबी पेश गर्न आह्वान गरेका हुन् । सो धाराकाे व्यवस्थाअनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ।
प्रदेश प्रमुख मियाँले बिहीबारदेखि नै राजनीतिक दल, कानुनका विज्ञसँग नयाँ सरकार गठनका लागि आह्वान गर्नका लागि परामर्श लिएर सो आह्वान गर्नुभएको हो।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन्। नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यकपर्छ। सङ्घीय सरकार अनुसार गठबन्धन बनाउन आवश्यक संख्या भन्दा बढी ३१ जना प्रदेश सभा सदस्य छन्। सात सदस्य रहेको नागरिक उन्मुक्ती पार्टी आन्तरिक विवादमा फसेकोले नयाँ सरकार बन्न कठिनाइ भइरहेको छ।
सङ्घीय सरकारमा रहेका नेकपा (एमाले), नेकपा ( माओवादी) संग १०/१० जना र नेकपा (एकीकृत समाजवादीसँग चार जना प्रदेश सभा सदस्य गरेर २४ मात्र रहेका छन्। प्रदेश सभामा नेपाली कांग्रेसका १८, राप्रपा र स्वतन्त्रका १/१ जना प्रदेश सभा सदस्य छन्।











