धनगढी, । चैत २२ गते ( भाेली) बिहीबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री शाह आफू नेतृत्वको सरकारप्रति सदनको विश्वास रहेको वा नरहेको पुष्टि गर्नका लागि प्रदेश सभा सदनबाट विश्वासको मत लिन लागेका हुन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश सरकारले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह विश्वासको मत लिन लागेका हुन् ।
त्यस्तै उनले विश्वासको मत लिनका लागि बिहीबार प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री शाहले सदनबाट विश्वासको मत पाए उनी नेतृत्वको सरकारले निरन्तरता पाउनेछ । बहुमत पुर्य ाउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्दछ । अहिलेको अवस्थामा नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ७ र एक स्वतन्त्र गरी मुख्यमन्त्रीलाई २६ जना प्रदेश सभा सदस्यको साथ देखिन्छ । राप्रपाका एक सदस्यले समर्थन गरेमा मुख्यमन्त्रीले बहुमत पाउने सम्भावना छ ।











