
काठमाण्डौ / ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेका छ वटा भ्रष्टाचार प्रकरणको अनुसन्धान गर्न माग गरेको छ ।
ट्रान्सपरेन्सीले आइतबार विज्ञप्ती जारी गरी आयल निगमको जग्गा खरिद प्रकरण, वाइडबडी जहाज खरिद प्रकरण, न्यारोबडी जहाज खरिद प्रकरण, नेपाल ट्रष्टको जग्गाहरू यति कम्पनीलाई लिजमा दिएको प्रकरण, सेक्युरिटी प्रेस खरिद सम्बन्धमा तत्कालिन मन्त्रीको अडियो प्रकरण र स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहद्वारा गरिएको व्यापक अनियमितता सम्बन्धी प्रकरणका मुद्दाहरुमा अविलम्ब अनुसन्धान प्रक्रिया सम्पन्न गरी दोषीहरुलाई कारवाही गर्न माग गरेको हो ।
संसदका विभिन्न चारवटा संसदीय समितिहरु, महालेखा परीक्षकको कार्यालय तथा सार्वजनिक खरिद अनुगमन कार्यालय समेतले आयल निगमको जग्गा खरिद प्रकरणमा व्यापक अनियमितता भएको तथा प्रचलित कानूनको ठाडो उल्लंघन गरी निगमलाई ठूलो आर्थिक हानी नोक्सानी पुर्याएको भन्ने प्रतिवेदन प्राप्त भएको अवस्थामा थप अनुसन्धान गरी दोषिहरु उपर कडा सजायको मागदावी गरी मुद्दा दायर गर्नुपर्नेमा उल्टै माहामारीको मौका छोपेर गुपचुपमा एक अर्ब रुपैया भन्दा बढी रकम हिनामिना गर्ने गराउने व्यक्तिहरुलाई ठाडै उन्मुक्ति दिनेगरी मुद्दाको फाइल बन्दगरी तामेलीमा राख्नुको पछाडि आयोगका पदाधिकारीहरुको कार्यक्षमता र ईमान्दारितामा मात्र होइन नियतमा पनि गम्भीर प्रश्नहरु उठेका विज्ञप्तीमा उल्लेख छ।