सिलगढी / हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
यस्तै, भोलि मंगलबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।











