
काठमाडौ / प्रतिनिधि सभा विघटन भएपछि सत्तारुढ नेकपा पनि ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन गरिएको नेकपाको धुम्बाराही र पेरिसडाँडाका दुवै कार्यालयलाई आफ्नो केन्द्रीय कार्यालयको रुपमा लिइएको थियो ।
अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहने गरी नेकपाले कार्यविभाजन गरेको थियो । विशेषगरी नेकपाको बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा र आक्कलझुक्कल धुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक राखिने गरिएको थियो ।

तर, अहिले दुई समूहमा विभाजित भएपछि ओली समूहको बैठक बालुवाटारमै बस्ने गरेको छ भने प्रचण्ड–नेपाल समूहको बैठक पार्टी प्यालेस र पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्न थालेको छ ।
हालै काठमाडौंमा प्रचण्ड–नेपाल समूहले गरेको प्रदर्शनमा ‘सूर्य चिन्ह’अंकित झण्डाको प्रयोगलाई विशेष प्राथमिकता दिइएको देखिन्थ्यो ।
नेकपाको वैधानिकता आफूहरुले पाउनु पर्ने माग गर्दै प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा निवेदन दिएको छ । नेकपाको वैधानिकता खोज्नु भनेको ‘सूर्य चिन्ह’ नै माग्नु रहेको बताइएको छ ।
तर, यही बेला पेरिसडाँडास्थित पार्टी कार्यालयमा प्रचण्ड–नेपाल समूहको बसेको बैठकस्थलमा भने सूर्य चिन्ह अंकित कुनै झण्डा र ब्यानर राखेको देखिँदैन ।
त्यहाँ हंसिया हथौडा अंकित झण्डामात्रै राखिएको देखिएपछि कतिपयले सो समूहले ‘सूर्य चिन्ह’ त्यागेको टिप्पणी गर्न थालेका छन् ।
पहिलेदेखि नै सो बैठकस्थलमा सूर्य चिन्ह राखिएको थिएन भने हँसिया हथौडा अंकित झण्डा र ब्यानरको प्रयोग गरिँदै आएको थियो ।
तर, अहिले नेकपाको वैधता खोजेको सो समूहले आफ्नो बैठकस्थलमा सूर्य चिन्ह नराखेको भन्दै आलोचना भइरहेको छ । क्यानाडा नेपालमा समाचार छ ।